नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलङ्गा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ ।

यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

उनले भने, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।” नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउछन् । उनले भने, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”