नेपालमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि सीमा पारी भारतबाट अवैध ढंगले भन्सार छली नेपाल भित्र्याइएका ४ हजार चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

भारतमा पंक्षीजन्य बस्तुमा बर्डफ्लू फेला परेको हल्ला चलिरहेकै समयमा अवैध तरिकाले नेपाल भित्र्याएका ४ हजार चल्ला बरामद गरी प्रहरीले पर्सामा नष्ट गरिदिएको हो ।

चिसो र शीतलहरले मध्यतराई कठ्याङ्ग्रिएका बेला शनिबार एकाबिहानै भन्सार छली चोरीपैठारी गरी अवैध रूपले पर्साको वीरगन्ज महानगरपालिका-२४, तिलावे पुल नजिकबाट चल्ला नेपालतर्फ भित्र्याइँदै थियो। गस्तीमा रहेको पर्सा प्रहरीको टोलीले सो चल्ला बरामद गरेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

बरामद गरिएका अवैध कुखुराका चल्ला जिल्ला प्रहरी कार्यालय पर्सा र पशु क्वारेन्टाइन कार्यालय सिर्सियाका प्रतिनिधिको संयुक्त टोलीले खाल्डो खनी नष्ट गरेको उनले बताए ।

पर्सा र बारालगायत मध्य-तराईका जिल्लामा यतिबेला शीतलहरका कारण चिसो अत्यधिक​ बढेको छ । यस्तो समयमा पनि अवैध कारोबारीले दाउ छोपेर एकाबिहानै सीमापारिबाट तस्करी गर्ने गरेका छन् ‌।

Space for Advertisement

Call us

OFFER