तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ । उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण तराईमा हुस्सु लागेको हो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।