निजगढ नगरपालिकाले महिलाहरुकोलागी प्रजनन स्वास्थ्य प्रवर्द्धन सम्बन्धमा जनस्तरमा सचेतना गराईरहेकोछ । निजगढका मेयर सुरेश कुमार खनाल सहितको टोलिले नगरका विभिन्न क्षेत्रमा पुगेर महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन सम्बन्धमा अभिमुखीकरण र सचेतना दिईरहेकोछ ।

नगरपालिकाले उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई नगरपालिकाको वार्षिक योजनामा राखेर प्रजनन सम्बन्धि जनचेतना अभियान नै चलाएकोछ ।

कार्यक्रम अन्तर्गत बुधबार निजगढको रतनपुरमा आयोजित अभिमुखीकरण तथा सचेतना कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका निजगढका मेयर सुरेश कुमार खनालले महिलाहरुमा हुने विभिन्न रोग र स्वास्थ्य सम्बन्धि समस्यालाई पहिचान गरेर समयमै उपचारकोलागि चेतना जगाउने उद्धेश्यले नगरपालिकाले वार्षिक योजनामा नै समावेश गरेर उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम संचालन गरेको बताउनुभयो । मेयर खनालले महिलाहरुले प्रजनन सम्बन्धमा आफुमा भएको रोग सार्वजनिक गर्न असहज मान्ने प्रवृत्तिले पछी गएर गम्भीर समस्या उत्पन्न हुने जनाउनुहुदै समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्ने कुरामा जोड दिनुभयो ।

अभिमुखीकरण तथा सचेतना कार्यक्रमको सभापति समेत रहनुभएको उपप्रमुख लिलादेवी लामिछाने खनालले महीलाहरु समाजमा खुल्न पछी पर्न नहुने बताउनुहुदै प्रजनन सम्बन्धि समस्या भएकाहरुले समयमै उपचार गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान,वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बा,वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान वहादुर गोले लगायतको सहभागिता रहेकोथियो ।

निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरका विभिन्न क्षेत्रहरुमा संचालन भईरहेको अभिमुखीकरण तथा सचेतना कार्यक्रम पश्चात फागुन २ गतेदेखि स्वास्थ्य परिक्षणसंगै उपचारको व्यवस्था समेत रहेको जनाईएकोछ ।