पुर्व पश्चिम रेलमार्ग निमार्णको लागि बस्ती विस्थापित हुन नदिने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताएका छन् । बाराको निजगढ सडक खण्डमा रेल्वे ट्रयाक निर्माणको लागि सर्वे गर्ने कार्यमा विवाद उत्पन्न भएपछी काम रोकिएको खनालले जानकारी गराए ।

निजगढमा भएको सर्वपक्षीय छलफलका क्रममा मेयर खनालले वस्ती भित्र बाट गुज्रिने रेलमार्गको विकल्प खोजेर सम्भव भएसम्म वस्ती भन्दा टाढा बाट रेलमार्ग निर्माण गर्नु उपयुक्त हुने रेल बिभागलाई सुझाव दिएका छन् । स्थानीय विष्णु खड्काको नेतृत्वमा केहि दिन पहिला निजगढको पश्चिम तर्फबाट बग्ने लालबकैया नदि नजिकबाट रेलमार्ग निर्माण गर्दा मानव वस्ती जोगिने भन्दै वस्ती भित्रबाट भएको सर्वे रोकी अन्यत्र विकल्प निकाल्न रेल बिभाग र नगरपालिकामा केहि हप्ता अघि ज्ञापनपत्र पेश गरेका थिए ।

स्थानीयको विरोध सगै रोकिएको सर्वे गर्ने कार्य सुचारु गर्न सम्भावित विकल्प खोज्ने उद्धेश्यले भएको छलफलमा रेलमार्गको सम्भावित नक्शा र प्रारम्भिक अध्ययन सम्बन्धमा प्रस्तुतीकरण समेत दीइएको थियो । प्रस्तुतीकरणको क्रममा निजगढ हुदै मकवानपुरको हेटौंडातर्फ जाने पुर्व पश्चिम रेलमार्गको निजगढ खण्डमा बन्न सक्ने सम्भावित ४ वटा विभिन्न नक्शां प्रस्तुत गरीएको थियो ।

निजगढको दक्षिणी क्षेत्र रौतहटको गुजरा हुदै निजगढतर्फ आउने रेलमार्ग पहिलो विकल्पमा निजगढको मुख्य बजार क्षेत्र हुदै उत्तरतर्फ जाने,दोश्रोमा लालबकैया नदीको निजगढ तर्फ पूर्वी किनारा हुदै निजगढका पश्चिमी मानव वस्ती हुदै उत्तरतर्फ लाग्ने,तेस्रोमा निजगढ नगरपालिका क्षेत्रको पश्चिम सिमाना हुदै चुरे पहाड तर्फबाट उत्तर जाने र चौथोमा निजगढको दक्षिणी क्षेत्र हुदै मानव वस्ती प्रवेश नगरी लालबकैया नदिको पश्चिमी किनारा हुदै उत्तरतर्फ जाने रेलमार्ग सर्वे गरिरहेको मध्येको एक नेपालि कम्पनि फुल ब्राईट कन्सल्टेन्सीका डाईरेक्टर मन्जुल कृष्ण मानन्धरले प्रस्तुत गरेका थिए ।

छलफलको क्रममा निजगढका स्थानीयले शहर बिचको मानव वस्ती भन्दा टाढा हुनेगरी रेलमार्ग निर्माण भएमात्र आफुहरुलाई मान्य हुने बताउदै अन्यथा कुनैपनि अवस्थामा रेलमार्ग निर्माण हुन् नदिने अडान लिएको छलफलमा सहभागी स्थानीय खड्काले जानकारी गराए ।

स्थानीयको माग जायज रहेको बताउनुहुदै रेल बिभागका सिनियर डिभिजनल ईन्जिनियर देवेन्द्र कुमार साहले आफुले माथिल्लो तहमा प्रभावितहरुको धारणा व्यक्त गर्ने राख्ने र तत्कालको लागि सर्वे गर्ने कार्यलाई अवरोध नगर्न आग्रह गरेका थिए । ईन्जिनियर साहले सकेसम्म मानववस्ती भन्दा टाढाबाट रेलमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकता दिन जोड गर्ने बताए ।

छलफलमा स्थानीय तहका जनप्रतिनिधि लगायत राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,प्रभावित बासिन्दाहरुको सहभागिता रहेको निजगढ नगरपालिकाका सुचना अधिकृत रविन घिमिरेले बताए ।