प्रहरीले मोरङको लेटाङबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन युवा र एक युवती रहेका छन् ।

लेटाङ नगरपालिका–४ का २६ वर्षीय विकेन राई, शिशिर घिमिरे, २५ वर्षीय राजकुमार लिम्बू र लेटाङ–३ की २२ वर्षीया अनु राईलाई लागूऔषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कविन्द्र कार्कीले जानकारी दिए ।

प्रहरीले लेटाङ–२ चिसाङ पुलनजिकबाट मंगलबार राति ९ बजेतिर चारै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुको साथबाट फेनारगन २० ट्याब्लेट, लुपिजेसिक २० र डाइजेल्याब १९ एम्पुल बरामद भएको कार्कीले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान थालिएको छ ।