नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि विश्वास नगर्ने माधव-प्रचण्ड समुहले संविधानको कुरा गर्न नसुहाँएको बताएका छन् ।

आज नेकपा जिल्ला कमिटी धनुषाले जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाल-प्रचण्ड समुहले अदालतमा विचाराधीन विषयलाई लिएर आन्दोलन गरी न्यायालयको पनि अपमान गरेको जीकिर गरे । एकातिर न्यायालयलाई छिनोफानो गर्ने जिम्मा दिने र अर्कोतिर सडकमा प्रदर्सन गर्नु जनतालाई दिगभ्रमित गरी अस्थिरता निम्त्याउने खेल मात्र भएको नेता साहको बुझाई छ ।

`यदी संसद विघटन असंवैधानिक हो भने अदालतमा रिट परिसकेको अवस्थामा अलिकति पनि धैर्य धारण नगरीकन आन्दोलन किन गर्नुपरेको हो ? म सोध्न चाहन्छु माधव नेपाल र प्रचण्डलाई । कि त भन्नुपर्यो तपाईहरुलाई न्यायालयमाथि विश्वास छैन´ नेता साहले भने, `तर यसरी अदालत पनि गुहार्ने र सडकमा नाटक मंचन गर्ने दोहोरो चरीत्र देखाएर जनतालाई दिगभ्रमित गर्ने कार्य बन्द गर्नुस । न्यायालयमाथि विश्वास नगर्नेले संविधानको कुरा गर्न सुहाउँदैन ।´

साथै नेता साहले संसद विघटन संवैधानिक भएको तर त्यस बाट आफू खुशी भने नभएको धारणा व्यक्त गरे । नेता साहले संसदको ६२ प्रतिशत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेको अवस्थामा अर्को सरकार बन्ने सम्भावना नभएको संविधानत: संसद विघटन गरिएको बताए ।

कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रघुवीर महासेठ एवम् सत्यनारायण मण्डल, प्रदेश कमिटीका सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलि महासेठलगायतका नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।