नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

बिहीवार रौतहटको गरुडामा नेकपा जिल्ला कमिटी द्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाल र प्रचण्डले पटक पटक अन्तरघातको कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गरेको बताए । नेपाल र प्रचण्डले आफ्नो पार्टी र आफ्नै पार्टीको सरकारविरुद्ध कदम कदममा धोखा र षडयन्त्र गरेको नेता साहको भनाइ थियो ।

“दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा ? यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिले गरेन । तर केही कम्युनिष्टहरु आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्यायो । तपाइँहरुले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ ।” नेता साहले भने, “मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत तीन वर्ष देखि पार्टी भित्र अन्तरघातमाथि अन्तरघात गर्दै आएका हुन् ।”

“माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार संचालनमा असहज भएपछि संसद विघटन गर्नपर्यो । जनताको ताजा मतादेश हासिन गर्न आह्वान गरिएको यो प्रक्रियालाई चुनौती दिदै अदालतमा गएपछि पनि निरन्तर सडकमा प्रदर्शन गर्ने र निच स्तरको गाली गरेर हिड्ने अराजकहरुले देशमा द्वन्द्व सृजना गर्न खोज्दैछन् ।” नेता साहले थपे, “त्यसैले म भन्न चाहन्छु कि पार्टीको कुनै बैठक बिनै सरकार र पार्टीविरुद्ध षड्यन्त्र गर्ने यस्ता प्रतिक्रान्तिकारी अस्थिरतावादीलाई पहिचान गरी निस्तेज गरौं ।”

कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेललगायतका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य बबन सिंहले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए ।