यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा बिस्फोट भएको हो ।

बुधबार एडेन विमानस्थलमा भएको घटनाको भिडियोमा देखिए अनुसार ठूलो बिस्फोट देखिन्छ । नयाँ मन्त्रीमण्डलका सदस्य सवार विमानबाट यात्रुहरु निस्कन लागेका बेला बिस्फोट भएको हो ।

बिस्फोटपछि मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरुको भागदौड मच्चिएको थियो ।

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

हेर्नुस् बीबीको यो भिडियो

विस्फोटको हालसम्म कसैले जिम्मा नलिएपनि लामो समयदेखि सशस्त्र द्वन्द्वमा रहेको विद्रोही समूहको संलग्नता रहेको यमनमा सूचनामन्त्री मोहम्मर अल–एरियानीले इरान समर्थित हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएका छन ।

उनले भनेका छन्, ‘आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर कदम हो ।’

सो आक्रमणको केही समयपछि राष्ट्रपति भवन नजिकै अर्को विस्फोट भएको बताइएको छ ।

प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूतहरुलाई सुरक्षित रुपमा राखिएको स्थान नजिकै दोस्रो विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

दोस्रो पटक भएको विस्फोटको क्षतिबारे केही जानकारी गराइएको छैन । साउदीको सरकारी टेलिभिजनमा विस्फोटपछिको अवस्थाका दृष्यहरु देखाइएको थियो ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ । अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ ।