बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए–नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ–छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ । बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, नाइजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ । यस भाइरसले त्रास बढाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बेलायतबाट आएका व्यक्तिको नमुना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरिने बताए । ‘स्वाब लिइसकिएको छैन । स्वाब लिएको हप्ता–दश दिनभित्र नतिजा आइसक्छ’, डा. ज्ञवालीले भने । डा. ज्ञवालीका अनुसार दोस्रो पटक गर्न लागिएको आनुवंशिक अध्ययनमा ४०–५० वटा स्याम्पल लिएर अध्ययन गरिँदैछ ।

परिषद्ले आनुवंशिक संरचना अध्ययन गर्दा नेपालमा भेटिएको भाइरस भारत, बंगलादेश र साउदी अरबको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो पाइएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएको झन्डै सात महिनापछि पहिलो पटक १५ वटा नमुना संकलन गरेर जिन सिक्वेन्सिङद्वारा आनुवंशिक अध्ययन गरिएको थियो । नयाँ स्वरूपको भाइरस फैलने क्रम तीव्र भएपछि भारत, स्पेन, हङकङसहित ४० भन्दा बढी मुलुकले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् ।

थपिए ५ सय संक्रमित

नेपालमा शनिबार कोरोना भाइरसबाट ५ सय जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १३ महिला र २ सय ८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ छ । हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । शनिबार तीन जनाको निधन भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।

Space for Advertisement

Call us

OFFER